२०८३ बैशाख ११ गते , शुक्रबार

विश्वकपका साविक विजेता फ्रान्स सेमिफाइनलमा, इङ्ल्यान्ड बाहिरियो

sajilo news
एजेन्सी
२०७९ मंसीर २५ गते , आईतबार
विश्वकपका साविक विजेता फ्रान्स सेमिफाइनलमा, इङ्ल्यान्ड बाहिरियो

दोहा । क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। अल बायट रंगशालामा भएको खेलको १७औं मिनेटमा औरेलिन चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पेनाल्टी एरिया बाहिरबाट  चोआमेनीले गरेका सशक्त प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १–० ले पछि परेका इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो। फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा फ्रेन्च फरवार्ड ओलिभर जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै पुनः फ्रान्सलाई अग्रता दिलाए। एन्टोइन ग्रिज्म्यानले बायाँतर्फबाट दिएको क्रसलाई पेनाल्टी बक्स भित्र रहेका जिरुडले गोलमा परिणत गरेका थिए।

त्यसको तीन मिनेट नबित्दै फ्रेन्च फुल ब्याक थियो हर्नान्डेजले इङ्लिस मिडफिल्डर म्यासन माउन्टलार्य फाउल गरेपछि केनसामू फेरि खेल बराबरी गर्ने मौका थियो। तर, केनले स्पटबाट गरेको प्रहार आकाशिँदा इङ्ल्यान्डले बराबरी गर्ने मौका गुमाएको थियो।

सोही अग्रताको बचाऊ गर्दै चार वर्षअघिको च्याम्पियन फ्रान्सले सेमिफाइनल यात्रा तय गर्यो। फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ। शनिबार राति नै भएको खेलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा पुगेको हो।

जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्ने छन्। फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुनेछ। चार वर्षअघि फ्रान्सले फाइनलमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो।

सम्बन्धित समाचार