फ्रान्स र इङल्याण्डमा को बलियो ?
कतारमा जारी विश्वकप २०२२ को सेमिफाइनल समीकरण आज पूरा हुँदै छ। क्वार्टरफाइनलको अन्तिम खेलमा साविक विजेता फ्रान्स र उपाधिको अर्को दाबेदार इङल्याण्ड भिड्न लागेका हुन्।
हाल फिफा वरीयतामा चौथो स्थानमा रहेको फ्रान्स र पाँचौँ स्थानमा रहेको इङल्याण्डबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ। समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको इङल्याण्ड जारी प्रतियोगितामा एक खेलमा पनि पराजित भएको छैन।
इरान र वेल्सलाई पराजित गरेको टोलीले अमेरिकासँग बराबरी खेलेको थियो। प्रि क्वार्टरफाइनलमा सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै इङल्याण्ड क्वार्टरफाइनल प्रवेश गरेको हो।
त्यस्तै दुईमा जित र एकमा हार व्यहोरेको फ्रान्स पनि समूह ‘डी’को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स ट्युनिसियासँग भने पराजित भएको थियो। प्रि क्वार्टरफाइनलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
सन् १९२३ मा पहिलो पटक आमुन्ने सामुन्ने हुँदा इङल्याण्डले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि अहिलेसम्म ३० एक अर्काको सामना गर्दा इङल्याण्ड नै बलियो देखिएको छ।
हालसम्म भएका खेलमा इङल्याण्डले १७ जित निकाल्दा फ्रान्सले ९ पटक पराजित गरेको छ। विश्वकपमा दुईपटक भेटिँदा दुवै खेलमा इङल्याण्ड नै विजयी भएको छ। पछिल्लो पटक २०१७ मा भेटिँदा भने इङल्याण्ड ३-२ गोल अन्तरले पराजित भएको थियो।
यो पटक दुवै टोलीलाई उपाधिको दावेदारका रूपमा हेरिएको छ। अघिल्लो विश्वकप विजेता फ्रान्स लगातार दोस्रोपटक उपाधि जित्दै तीनपटकको विश्वविजेता बन्न चाहन्छ। यसअघि सन् १९९८ मा फ्रान्सले पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो।
त्यस्तै सन् १९६६ को विश्वकप विजेता इङल्याण्ड ५६ वर्षपछि विश्वकपको उपाधि उचाल्दै दोस्रोपटक विश्वविजेता बन्न चाहन्छ।इङल्याण्डका लागि फ्रान्सका किलियन एमबाप्पे खतरा साबित हुन सक्छन्। एमबाप्पे ५ गोल सहित प्रतियोगितामा गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका छन्। एमबाप्पे बाहेक ओलिभियर जेरार्डलाई पनि इङल्याण्डले हेर्नुपर्ने खेलाडीको सूचीमा राख्नेछ। जारी प्रतियोगितामा उनले ३ गोल गरेका छन्।
त्यस्तै इङल्याण्डका युवा खेलाडी बुकायो साका र मार्कस रासफोर्डमाथि फ्रान्सले विशेष ध्यान दिनेछ। दुवै तीनतीन गोल सहित गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले जम्मा ४ गोल गरेका छन्। थाहाखबरबाट