२०८३ बैशाख ९ गते , बुधबार

नेदरल्यान्ड्समाथि संर्घषपूर्ण जित निकाल्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

sajilo news
एजेन्सी
२०७९ मंसीर २४ गते , शनिबार
नेदरल्यान्ड्समाथि संर्घषपूर्ण जित निकाल्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

दोहा । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम चारमा पुगेको छ। लुसेल रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुरुआती दुई पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स उत्कृष्ट पुनरागमन गरेर पनि हार टार्न असफल रह्यो।

नेदरल्यान्ड्सका लागि पहिलो पेनाल्टी प्रहार गरेका कप्तान भर्जिल भान डाइकले गरेका प्रहार अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले बचाएका थिए। अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसीले पहिलो पेनाल्टीमा गोल गरेका थिए।

नेदरल्यान्ड्सका लागि स्टेभन बर्गुहिसले गरेको प्रहारमा पनि मार्टिनेज बाधक बनेका थिए। अर्जेन्टिना लियान्ड्रो पेरेडेजले गरेको तेस्रो प्रहार पनि गोलमा परिणत भएको थियो। नेदरल्यान्ड्सका लागि टिउन कुपमेयर्सले गोल गरेका थिए। 

अर्जेन्टिनाका गोन्जालेज मोन्टिलयले चौथो गोल गरेका थिए। यस्तै एन्जो फर्नान्डेजले प्रहार गरेको पाँचौं पेनाल्टी बाहिरिएको थियो। वाउट बेघहोस्र्सटले पनि डच टिमका लागि गोल गरेका थिए। अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले पाँचौं पेनाल्टीमा गोल गरेसँगै ४–३ को नतिजामा अर्जेन्टिना विजयी भयो।

पहिलो हाफमा नेदरल्यान्ड्सको रक्षापंक्ति छिचोल्न संघर्षरत अर्जेन्टिनाका लागि ३५औं मिनेटमा नह्युल मोलिनाले गोल गर्दै अग्रता दिलाएका थिए। पेनाल्टी एरिया अगाडिबाट मेसीले दिएको उत्कृष्ट पासलाई ६ यार्ड बक्स अगाडि नियन्त्रणमा लिएर मोलिनाले गोल गरेका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाले ७३औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने मौका पाएको थियो। डच फुल ब्याक डेन्जल डम्फ्रिजले अर्जेन्टिनाका मार्कस एक्युनालाई १८ यार्ड बक्समा फाउल गरेका थिए।

सोही पेनाल्टीलाई गोलमा परिणत गर्दै मेसीले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा वाउट वोगहस्र्टले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई खेलका फर्काएका थिए। अर्जेन्टिनाविरुद्ध २–० ले पछि परेपछि आक्रामक बनेको नेदरल्यान्ड्सले अविश्वसनीय पुनरागमन गर्यो।

इन्जुरी समयको अन्तिम मिनेटमा वोगहर्स्टले पुनः गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। त्यसपछि अतिरिक्त समयमा पुगेको खेलको थप ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो।

समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलियालाई २–१ कै नतिजामा पराजित गरेको थियो। समूह ‘ए’को विजेता बन्दै अन्तिम १६ मा पुगेको नेदरल्यान्ड्सले प्रि–क्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गरेका थियो।

अर्जेन्टिनाले फाइनल प्रवशेका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। शुक्रबार राति नै भएको पलिहो क्वार्टरफाइनलको पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ।

अर्जेन्टिना सन् २०१४ मा फाइनलसम्म पुगेर जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो। चार वर्षअघि रुसमा अन्तिम १६ फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सम्बन्धित समाचार