स्पेनलाई पेनाल्टीमा हराउँदै मोरक्कोले रच्यो इतिहास
मोरक्को फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो।
मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो। मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ। एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। पेनाल्टीमा मोरक्कोले बाजी मार्यो।
पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे। बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके।
पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए। सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए।
पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो। अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ।