२०८१ चैत्र १४ गते , विहीबार

जापानलाई पेनाल्टीमा ३-१ गोलले हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

sajilo news
एजेन्सी
२०७९ मंसीर २० गते , मंगलबार
जापानलाई पेनाल्टीमा ३-१ गोलले हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

साविक उपविजेता क्रोएसिया फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो। क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे। मार्को लिभाजा पेनाल्टीमा चुके।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए। 

पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो। खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् ।

तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे । यस जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ।

सम्बन्धित समाचार