२०८० फाल्गुन १० गते , विहीबार

हँडिया रेगुलेटर सिँचाइ आयोजनाको मुहान मर्मत नहुँदा ४०० हेक्टर जमिन बाँझै

sajilo news
झापा
२०७९ मंसीर १८ गते , आईतबार
हँडिया रेगुलेटर सिँचाइ आयोजनाको मुहान मर्मत नहुँदा ४०० हेक्टर जमिन बाँझै

झापा । एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हँडिया रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान मर्मत गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ ।

गतवर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैङ्कको पाँच करोड २२ लाखको लागतमा हँडिया खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो ।

वडा नं। १४ का निवर्तमान अध्यक्ष शङ्कर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटक–पटक प्रदेश सरकारसँग बजेट माग गरेका थिए । प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ ।

उनले सो परियोजनाको मुहान मर्मतका लागि करिब एक करोड लाग्ने बताए । ‘परियोजना सञ्चालनमा आएपछि पाँच सय घरपरिवारको जमिन सिञ्चित भएको थियो’ उनले भने, ‘अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकासे पानीको भरमा लगाएको धान खेतीसमेत फस्टाएन ।’

उनले तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गए । ‘खेती गर्ने पानीको अरू विकल्प छैन’ उने भने, ‘तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंद्ले पहल गरिदिनुहुन्छ भन्ने अपेक्षा छ ।’

सम्बन्धित समाचार