अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा

दोहा । अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो।
खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो।
जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ।