मोरक्को र क्रोएसिया नकआउट चरणमा

दोहा। फिफा विश्वकपअन्तर्गत समूह 'एफ'बाट मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा मोरक्कोले क्यानडालाई २-१ गोलको नतिजामा पराजित गर्दै समूह विजेताको हैसियतमा प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो।
हाकिम जिएचले चौथो मिनेटमा गरेको गोलसँगै मोरक्कोले अग्रता लिएको थियो। क्यानडामाथि हाबी बनेको मोरक्कोका लागि २३औं मिनेटमा योसुफ एन-नेसेरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको खेलसकित पाँच मिनेट बाँकी रहँदा मोरक्कोका नेइफ अग्वेर्डले आत्मघाति गोल गरेसँगै क्यानडाले स्कोरलाइन घटाएको थियो। तर, दोस्रो हाफमा त्यसको बचाउ गर्दै मोरक्को १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणा पार गर्न सफल भयो।
सन् १९८६ मा वेस्ट जर्मनीसँग १-० को नतिजामा पराजित हुँदै मोरक्को विश्वकपबाट बाहिरिएको थियो। समूह 'एफ'को विजेता बनेसँगै मोरक्कोले प्रि-क्वार्टरफाइनलमा समूह 'ई'को उपविजेतासँग खेल्ने छ।
बिहीबार नै भएको अर्को खेलमा बेल्जियमसँग बराबरी खेल्दै साविक उपविजेता क्रोएसिया पनि समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जित्नै पर्ने खेलमा असफल भएपछि चार वर्षअघि रुसमा तेस्रो भएको बेल्जियम समूह चरणबाटै बाहिरिएको छ।
चार वर्षअघि फाइनलमा फ्रान्सँग ४-१ गोलको नतिजामा पराजित हुँदै उपविजेता बनेको क्रोएसियाले क्वार्टरफाइनल प्रवेशका लागि समूह 'ई'को विजेतासँग खेल्ने छ। समूह 'ई'मा स्पेन, जर्मनी, जापान र कोस्टारिका छन्। जित तथा अंकविहीन क्यानडा पनि पहिलो चरण पार गर्न असफल रह्यो।