जर्मनी लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरियो

दोहा । समूह 'ई'अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे पनि जर्मनी गोलअन्तरको आधारमा तेस्रो स्थानमा सीमित हुँदा जर्मनी नकआउट चरण पार गर्न असफल रह्यो।
अल बायट रंगशालामा सर्ज जिनाब्रीले १०औं मिनेटमा गरेको गोलसँगै जर्मनीले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको जर्मनीले ५८औं मिनेटमा गोल खाएको थियो। येल्टसिन टेजेडाले गरेको गोलसँगै बराबरी गरेको कोस्टारिकाले ७०औं मिनेटमा २-१ अग्रता बनायो।जर्मनीका गोलकिपर म्यानुअल नोएरले आत्मघाती गोल गरेपछि कोस्टारिका नकआउट नजिक पुगेको थियो। तर, अन्तिम समयमा जर्मनीविरुद्ध तीन गोल खाँदा कोस्टारिकाले अगाडिको यात्रा तय गर्न सकेन। जर्मनीका लागि काइ हाभर्ट्जले ७३ र ८५औं मिनेटमा लगातार दुई गोल गरेका थिए।
निर्धारित समयको खेलसकिन एक मिनेट बाँकी रहँदा निक्लास फुलक्रुगले गरेको गोलसँगै जर्मनीले ४-२ गोलको जित सुनिश्चित गर्यो। तर, समूह चरण पार गर्न भने सकेन। यो समूहबाट जापान समूह विजेता र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्।