२०८३ बैशाख २४ गते , विहीबार

झापामा हात्तीपाइले रोगविरुद्धको अभियान फेरि असफल 

sajilo news
झापा
२०७९ मंसीर १४ गते , बुधबार
झापामा हात्तीपाइले रोगविरुद्धको अभियान फेरि असफल 

झापामा हात्तीपाइले रोगविरुद्धको अभियान असफल भएको छ । हात्तीपाइले रोग निवारणसम्बन्धी गरिएको स्याम्पल सर्भेमा तोकिएको मापदण्डभन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि जिल्लामा हात्तीपाइले रोग निवारण हुन सकेन ।

झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा स्याम्पल सर्भे गरिएको थियो । दुवै ठाउँका ६ सय जनामा स्याम्पल सर्भे गरिएको थियो । रोग निवारण भएको घोषणा गर्नका लागि सर्भेमा पाँच वा पाँचभन्दा कममा हात्तीपाइलेको जीवाणु भेटिनु पर्नेमा कचनकवलमा २१ जना र कुमरखोदमा १३ जनामा जीवाणु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । धेरैमा जीवाणु भेटिएपछि अझै दुई वर्ष हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गरिने उनले बताए ।

सोमवार कचनकवल र मङ्गलवार कुमरखोदमा स्याम्पल सर्भे गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा ९रिपोर्ट० आउने गरी स्याम्पल सर्भे गरिएको थियो ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयवासीको रगत परीक्षण गरिएको थियो । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।

झापामा हात्तीपाइले रोगविरुद्धको अभियान असफल भएपछि यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एउटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए । छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक सन् २०२० मा झापाको दमक र झापा गाउँपालिकामा स्याम्पल सर्भे गरिएको थियो । त्यति बेला पनि मापदण्डभन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान असफल भएको घोषणा गरिएको थियो ।

आगामी माघ अन्तिममा १२ औं पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको थियो । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

सम्बन्धित समाचार