बिर्तामोडको गौरवती सतानुसिंह प्रतिष्ठानमा चोरी
बिर्तामोड । बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानमा चोरी भएको छ । हिजो दिउँसो सो प्रतिष्ठानभित्रको मन्दिरमा चोरी भएको हो । चोरले त्यहाँस्थित शिव मन्दिरको तीन वटा घण्टी र जलहारी लगेका छन् । दिउँसो २ बजेसम्म त्यस प्रतिष्ठान हाताभित्र रहेको पोखरीमा माछा मार्ने मलाहाहरू रहेका थिए ।
त्यति बेलासम्म सबै सामग्री सुरक्षित रहेको थियो । बेलुका पूजा गर्ने समयमा हेर्दा मन्दिरभित्र रहेको दुई वटा हाते घण्टी, एउटा तामाको जलहारी र मन्दिर बाहिर झुन्ड्याइएको एउटा घण्टी नभएको प्रतिष्ठान क्षेत्रमै बसोबास गर्ने प्रतिष्ठानकै एम्बुलेन्स चालक विजयकुमार शाहले बताए ।
राति प्रतिष्ठानको बाहिरी गेटमा ताला लगाइने गरिएको छ । दिउँसो गेटको ढोका र मन्दिरको ढोका भने पूजाआजाको लागि खुला राखिने गरिएको उनले बताए । चोरी भएको घण्टी स्थानीय समाजसेवी सूर्यनारायण राजवंशीले दान गरेका थिए ।सो प्रतिष्ठानभित्र एउटा शिव मन्दिर, एउटा कृष्ण मन्दिर, पोखरी र अन्य धेरै संरचनाहरू रहेका छन् ।