दक्षिण कोरिया र उरुग्वेबीचको खेल बराबरी

दोहा । फिफा विश्वकपको समूह ‘एच’अन्तर्गत बिहीबार भएको दक्षिण कोरिया र उरुग्वेबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । एजुकेसन सिटी रंगशालामा जारी खेलमा दुवै टिमले गोलका लागि अवसर सिर्जना गरेका थिए। तर, अपेक्षित फिनिसिङ नहुँदा रंगशालामा उपस्थित करिब ४५ हजार दर्शकले गोलको मजा लिन पाएनन्।
किम मुन(ह्वानले नवौं मिनेटमा गरेको क्रसमा जोसे मारिया गिमिनेज बाधक बनेका थिए। उरुग्वेका फेडेरिको भलभर्देले १९औं मिनेटमा प्रहार गरेको हाफ(भली फ्रेममा परेको थिएन।
भलभर्देले नै २६औं मिनेटमा प्रहार गरेको फ्रि(किक दक्षिण कोरियाली डिफेन्डरले हेडरमार्फत क्लियर गरिदिएका थिए। त्यसपछि पाएको कर्नरमा दक्षिण अमेरिकी मुलुकले आक्रमणको मौका बनाउन सकेन।
दक्षिण कोरियाले ३४औं मिनेटमा गरेको काउन्टर अट्याकमा ह्वाङ वि-जोले सुन्दर मौका गुमाएका थिए। ६ यार्ड बक्स अगाडि अन्मार्क्ड रहेका वि(जोले गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
निर्धारित समयको अन्तिम मिनेटमा भलभर्देले पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर फर्किएको थियो।
सोही मिनेटमा कोरियाका सनले प्रहार गरेको प्रहार पनि फ्रेममा परेन। कोरियासँगको बराबरीसँगै उरुग्वेले सन् २०१४ यता समूह चरणका कुनै खेलमा गोल खाएको छैन। ब्राजिलमा भएको विश्वकपको २०औं संस्करणअन्तर्गत इङ्ल्यान्डविरुद्ध ७५औं मिनेटमा गोल खाएको थियो। त्यसयता खेलेका समूह चरणका पाँच खेलमा उरुग्वेले गोल खाएको छैन। बिहीबार राति नै हुने दोस्रो खेलमा पोर्चुगल र घाना आमनेसामने हुँदैछन्।