तरकारी बोकेको गाडीमा ठूलो परिणाममा गाँजा फेला
धनकुटाबाट तरकारी लिएर जनकपुरतर्फ जाँदै गरेको पिकअप गाडीभित्र सशस्त्र प्रहरीले बुधबार बिहान ठूलो परिणाममा गाँजा फेला पारेको छ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ मा को १ च ८५२५ नम्बरको पिकअप रोकेर खानतलासी गर्दा लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं र निर्वाचन सुरक्षाका लागि खटिएको सशस्त्रका इन्सपेक्टर भूपेन्द्रकाजी निरौला नेतृत्वको संयुक्त टोलीले बिहान ४ बजेतिर गाँजा बरामद गरेको हो।
पिकअपबाट २ सय १७ किलो गाँजा बरामद भएको सशस्त्रले जनाएको छ। पिकअपमा बन्दाकोभी लोड गरिएको थियो। माथिबाट बन्दाकोभीले छोपेर ८ वटा बोराभित्र प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको गिरीले बताए। सशस्त्रले पिकअपसहित गाँजा र तरकारी नियन्त्रणमा लिएको छ।
चेकजाँच सुरु हुनसाथ पिकअप छाडेर चालक फरार बनेका छन्। चालकको खोजी तीव्र पारिएको सशस्त्रले जनाएको छ। नियन्त्रणमा लिइएको पिकअप, बरामद गरिएको गाँजा र तरकारी सशस्त्रले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरिरहेको छ।