झापा : निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझाउने क्रम जारी, मतगणना सोमबार विहान (फोटोसहित)
झापामा मतदान अधिकृतहरूबाट मतपेटिका बुझ्ने काम धमाधम भइरहेको छ । झापाका पाँचै निर्वाचन क्षेत्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयहरूमा मतपेटिका बुझे काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापा- १ को मेचीनगर नगरपालिका, २ नम्बरको अर्जुनधारा नगरपालिका, ३ नम्बरको जिल्ला समन्वय समितिको कार्यालय भद्रपुर, ४ नम्बरको कनकाई नगरपालिका र ५ नम्बरको दमक नगरपालिकामा मतपेटिका मतदान अधिकृतहरूले बुझाइरहेको जनाइएको छ । सबै क्षेत्रका मतपेटिका संकलन गरेर ल्याएपछि अहिले निर्वाचन अधिकृतको कार्यालयमा भीड लागेको छ ।
रातीको साढे ११ बजेसम्मको जानकारी लिँदा मतपेटिका बुझ्न अझ डेढ देखि दुई घण्टा समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका बुझ पश्चात् सर्वदलीय बैठक बोलाएर मतगणनाको समय तोकिने छ । अहिलेसम्म समयको टुङ्गो लागि नसकेको जनाइएको छ । मतगणना सोमबार बिहानबाटै सुरु हुनेछ । यता जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा ४ लाख ६६ हजार २५५ मत खसेको छ । प्रतिशतको हिसाबले ६७ दशमलव २७ प्रतिशत मत खसेको छ ।



