झापामा मतदातामा उत्साह देखिएन, ६७.२७ प्रतिशत मत खस्यो
झापा । झापाका मतदातामा स्थानीय तह निर्वाचन जस्तो उत्साह आम निर्वाचनमा खासै देखिएन । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म जिल्लाका अधिकांश मतदान स्थल सुनसान जस्तै थियो । दिउँसो १ बजे पछाडि मात्र मतदान स्थलहरूमा मतदाताहरू आए पनि उनीहरूमा उत्साह देखिएन ।
हल्दिबारीका कुमार राजवंशीले भने, ‘यस पल्ट निर्वाचनमा उत्साह नै देखिएन, दलहरूबिचको अन्तरद्धन्द्धका कारण मतदाताहरू निराश बनिसकेका छन् ।’
भद्रपुरका अधिकांश मतदान स्थलहरूमा स्थानीय तह निर्वाचनमा मतदाताको निकै भिडभाड थियो । उनीहरूमा उत्साह थियो । तर, आम निर्वाचनमा खासै भिडभाड नदेखिएको स्थानीय सञ्जीव घोषले बताए । यता जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लामा ६७.२७ प्रतिशत मत खसेको छ ।
जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा ४ लाख ६६ हजार २५५ मत खसेको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदानमा सामान्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । सबैभन्दा बढी प्रतिशत मत झापा- १ मा र सबैभन्दा कम प्रतिशत मत झापा- ४ मा खसेको छ । झापा- १ मा ७२.६३ प्रतिशत, झापा- २ मा ६५.४२ प्रतिशत, झापा- ३ मा ६८.२० प्रतिशत, झापा- ४ मा ६४.४४ प्रतिशत र झापा- ५ मा ६६.२० प्रतिशत मत खसेको नेपालले जानकारी दिए । २०७४ सालको आम निर्वाचनमा झापामा ६६ प्रतिशत मत खसेको थियो । यस पटक एक प्रतिशतले मत बढे पनि स्थानीय तह निर्वाचन भन्दा ४ प्रतिशतले मत कम खसेको छ ।