झापाका ग्रामीण क्षेत्रमा जनता मतदाता शिक्षाबाट वञ्चित
यही मंसीर ४ गते हुने आम निर्वाचन शिक्षाका लागि झापामा १३१ जना महिला स्वयम् सेविका परिचालन गरिएको थियो । तर महिला स्वयम् सेविका पुग्न नसकेको स्थानमा मतदान कसरी गर्ने भन्ने कुरा अझै स्पष्ट नभएको ग्रामीण क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
झापा जिल्ला नेपालमा सुगम र साक्षर जिल्लाको रुपमा चिनिन्छ । यस पटकको निर्वाचनमा मत माग्ने टोली आए पनि मत कसरी लगाउने भन्ने विषयमा कसैले पनि नसिकाएको दमक वडा नं। ७ की सविता तामाङले गुनासो पोखिन् । तामाङका अनुसार आफूहरूलाई भोट माग्न भने आएको तर कसैले पनि भोट कसरी लगाउने भन्ने नसिकाएले कसरी मतदान गर्ने भन्ने कुरा जानकारी नभएको बताइन् ।
यस पटकको निर्वाचनमा जिल्लामा रहेको १५ वटा पालिकाको १३१ वडामा एकरएक जना महिला संयम सेविकालाई मतदाता शिक्षाका लागि खटाइएको थियो। तर छोटो समयमा धेरै जनसङ्ख्या र ठुलो क्षेत्र रहेको वडाका सबै घरमा संयम सेविकाहरू पुग्न सकेका छैनन् । आफूहरू पुगेको स्थानमा बुझ्दा ८० प्रतिशत मानिसलाई मतपत्र र मतदान गर्नेबारे ज्ञान नभएको शिक्षा दिन खट्नु भएकी स्वास्थ्य संयम सेविका रिता दंगालले बताइन्। दंगालका अनुसार धेरै स्थानमा भने भोट माग्न आएको भन्ठानेर नेताको आक्रोश स्वयंसेविकाहरूमा खन्याउने गरेका छन् ।
यस अघि स्थानीय तहको निर्वाचनमा कुनै कुनै स्थानमा २५ प्रतिशतसम्म मत बदर भएको छ । त्यसैले पनि यस पटक मतदाता शिक्षा दिन आफूहरूले धेरै प्रयास गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए । नेपालका अनुसार हरेक वडाका टोल विकास संस्थामा पुगेर मतदान गर्न स्वास्थ्य स्वयम् सेविकाहरू खटाइएको हो । यस बाहेक १५ वटै पालिकाका विभिन्न क्षेत्रमा नमुना मतदान गराई अभ्यास समेत गरिएको उनले बताए । झापा जिल्ला नेपालकै दोस्रो धेरै ६ लाख ६३ हजार ३ सय ११ मतदाता भएको जिल्ला हो । २ सय ८५ मतदान स्थल र ७ सय ६६ मतदान केन्द्र रहेको यस जिल्लामा सबैले सही तरिकाले मत हालेर आफ्नो मतदानको अधिकार प्रयोग गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।