मोती पत्रकारिता पुरस्कारको राशि ११११११ र केटो पुरस्कारको राशि २५ हजार
नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कारको राशि वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याइने भएको छ ।
महासंघ झापाको हालै बिर्तामोडमा सम्पन्न साधाराण सभाले उक्त पुरस्कारको राशि वृद्धि गर्ने र अक्षयकोषको रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त राशिको पुरस्कार महासङ्घको आगामी अधिवेशनबाट वितरण हुनेछ ।
एक लाख रुपैयाँ मात्र अक्षयकोष रहेको सो पुरस्कारको राशि सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशि पुर्याइएको थियो । कोषको ब्याजले पुरस्कारको राशि नधान्ने अवस्था आएपछि महासङ्घको वर्तमान नेतृत्वले अक्षयकोष वृद्धिमा जोड दिँदै सो प्रस्ताव साधाराण सभामा पेस गरेको हो । सचिव डिकेश लामाले पेस गरेको सो सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्व अध्यक्ष, सञ्चारकर्मी तथा दाताहरूलाई आग्रह गरेको छ । त्यस्तै महासङ्घद्वारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशि वृद्धि गरी रु २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासङ्घले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ । रु २५ हजार पाँच सय ५५ राशिको सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।
मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो
नेपाली पत्रकारिताको सुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासङ्घको अधिवेशनमा प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाइमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासङ्घले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । पुरस्कारको राशि सुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले विस १९४३देखि नेपाली पत्रकारिताको सुरुवात गरेका थिए । उनले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए। उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो ।
मोतीरामकै सक्रियतामा विसं १९५५ मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधा सागर’ को प्रकाशन सुरु भयो । ‘सुधा सागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो । मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, डिल्लीराम निर्भीक, मदन ढकाल, डिकमान विरही, गन्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।
‘केटो’ पत्रकारिता पुरस्कार यसरी स्थापना भयो
नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासङ्घको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । ‘केटो’ २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको झापाको पहिलो पत्रिका हो । मासिक रुपमा प्रकाशित भएको यो पत्रिका मेची अञ्चलकै जेठो मानिन्छ । श्यामकृष्ण उपाध्याय उक्त पत्रिकाको सम्पादक थिए । महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कार पहिलोपटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण सुरु भएको हो । सुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशि पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो । पुरस्कारबाट पत्रकारहरू गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुङ्गाना पुरस्कृत भइसकेका छन् ।