पार्टी पत्रकारिता छोड्न पूर्व अध्यक्ष बरालको आह्वान
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तारा बरालले पार्टी पत्रकारिता छोड्न सबै पत्रकारहरूलाई आव्हान गरेका छन् ।
महासंघ झापा शाखाले आइतबार बिर्तामोडमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बरालले झापाली पत्रकारितालाई उदाहरणीय बनाउन आग्रह गरे । पछिल्लो समय पत्रकारिता राजनीतिक र अन्य कारणले विकृत बन्दै गएको भन्दै उनले दलगत पत्रकारिता नगर्न सुझाए । राजनीतिक स्वार्थलाई पत्रकारिता र महासंघबाट अलग राख्नुपर्ने बरालको भनाइ थियो । ‘पत्रकार रबर ट्याम्प बन्नु हुँदैन, कोही पत्रकार पनि पार्टीको कार्यकर्ता नबन’– बरालले भने–‘यदि राजनीति गर्ने हो भने पत्रकारिता छोडौँ ।’
हाल अमेरिकामा बसोबास गर्दै आएका बरालले सो अवसरमा झापाप्रति आफूलाई सदैव गर्व रहेको बताए । त्यस सन्दर्भमा उनले मुलुकमा प्रजातन्त्र बहालीको आन्दोलनसँगै व्यावसायिक पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको आन्दोलनमा झापाका पत्रकारले लिड गरेको स्मरण गरे ।
पत्रकार महासंघ झापाको वर्तमान नेतृत्वले पत्रकारको दिगो हितमा उदाहरणीय काम गरेको भन्दै उनले प्रशंसा गरे । महासंघले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफू अमेरिका फर्के लगत्तै त्यहाँका सरोकार राख्नेसँग छलफल गरेर महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । बराल अमेरिकाबाट झापा आएको सन्दर्भमा महासंघले पूर्वअध्यक्षहरुसहितको सहभागितामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्वअध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, कृष्ण हुमागाईँ, मोहन काजी, पूर्व उपाध्यक्ष तीर्थ सिग्देलले पत्रकारिता क्षेत्रमा झापाको योगदानको चर्चा गरे । उनीहरूले महासंघका पूर्व अध्यक्ष बरालले नेपाली पत्रकारिताको श्रीवृद्धि र महासंघ झापाको नेतृत्वमा रहेर खेलेको भूमिकाको स्मरण गरे । अमेरिका निवासी सञ्चारकर्मी तथा साहित्यकार विटु केसीले समेत सो अवसरमा आफ्नो धारणा राखेकी थिइन् । कार्यक्रमको सहजीकरण महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । कार्यक्रममा महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी तथा सेमी प्रसाईँ लगायतको आतिथ्य थियो ।