२०८३ असार १३ गते , शनिबार

बिर्तामोडमा एक सय केजी हाइब्रेड माछा नष्ट 

sajilo news
झापा
२०७९ कार्तिक २७ गते , आईतबार
बिर्तामोडमा एक सय केजी हाइब्रेड माछा नष्ट 

बिर्तामोडको कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ । वडा नम्बर ५ स्थित कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १ सय किलो माछा शनिवार साँझ बिर्तामोड नगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल सरकारबाट प्रतिबन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरूको सहयोगमा नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आज बिर्ता बजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, माछा उत्पादक कृषक मोहन सिवाकोटी, लक्ष्मी प्रसाद सिवाकोटी, कपिल न्यौपाने, मोहन सिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानीयको रोहबरमा माछा नष्ट गरिएको हो ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले यस प्रकारको प्रतिबन्धित माछा उत्पादन नगर्न कृषकहरूलाई आग्रह गरे । उनले अवैध र मरेका माछा बिर्तामोड नगर क्षेत्र भित्र विक्री वितरण गरेको भेटिएमा कानुन अनुसार नगरपालिकाले कार्वाहि गर्ने चेतावनी दिए । बिर्तामोड नगरपालिकाले मरेका माछा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित समाचार