विपन्नलाई किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज
बुधबारे । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले दैनिक दर्जनौँ मानिसको ज्यान समेत लिँदै आएको छ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरूमा गरिब तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
केही दिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १ सय ५० बढी घरपरिवारलाई किटनाशक झुल वितरण गरेको थियो । आज शनिवार समेत बुद्धशान्ति ३ पुलचोक छेउ किराना बस्तीका विपन्न ७५ घरपरिवारलाई किटनाशक झुल वितरण गरिएको बुधबारे जेसीज वर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले बताए । उनले बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर पारेर ’जन्मदिन खास दिन’ कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन हुँदै आएका समेत जनाए ।
यति वेला देशभर डेंगु संक्रमण बढेकाले सचेतना स्वरूप झुल वितरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्योधन देव सिंहले बताएका छन् । बुधबारे जेसीजका सदस्य दुर्योधन देव सिंहको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रमका सञ्चालक तथा महासचिव अर्जुन ढकालले बताएका छन् ।
कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष नन्दुयाफु राईले वर्ष भरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसीजको अभियान रहेको उल्लेख गरेका थिए । उनले स्थापनाकाल देखी नै आफ्ना कार्यक्रम मार्फत बुधबारे जेसीजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराएका थिए । कार्यक्रममा बुधबारे जेसीजका कोषाध्यक्ष विनोद रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने उपाध्यक्ष राज पौडेलले आस्था पाठ वाचन गरेका थिए । कार्यक्रममा जेसीजका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।