मोरङको बेलबारी आगलागी, चार करोड बढीको क्षति
मोरङको बेलबारी नगरपालिका–१ ढुकुरे चोकमा रहेको हार्डवेयर पसलमा शुक्रबार बिहानका राति आगलागी भएको छ। डबल खान ठकुरीको ३ तले घरमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयरमा बिहान १:४५ बजेतिर अचानक आगलागी भएको हो। प्रहरीले संकलन गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आगलागीमा ४ करोड बराबरको क्षति भएको छ। आगोले जलेर २ जना घाइते भएका छन्।
आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका सामान जलेर क्षति पुगेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार आगोले जलेर ३० वर्षीय भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीय नमिता ठकुरी घाइते भएका छन्। शरीरका विभिन्न भाग जलेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भूषण र नमिता घरधनी डबल खान ठकुरीका छोरा बुहारी हुन्। आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली खटिएको थियो। नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान ३स्२५ बजेतिर आगो नियन्त्रणमा लिइएको एसपी कोइरालाले बताए।
विद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी कोइरालाले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।