झापा- २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालको चर्चा, राजनीतिक दलका उम्मेदवारको टाउको दुखाई बन्दै
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आआफ्नो प्रचार र घरदैलोमा व्यस्त छन । झापामा पनि चुनावी सरगर्मी बढेको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता कृष्ण प्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व मन्त्री एवम् एमालेका प्रभावशाली नेता अग्नि खरेल र अर्का एमाले नेता देवराज घिमिरे जस्ता राजनीतिक खेलाडीहरू झापाका विभिन्न क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकाले पनि झापा यति बेला चासोको केन्द्र बनेको छ ।
झापामा राजनीतिका शीर्ष नेताहरु सँगै केही स्वतन्त्र उम्मेदवारहरूले आफूलाई चुनावी भिडन्तमा उभ्याएका छन । राजनीतिका शीर्ष खेलाडीहरूलाई चुनौती दिन सक्ने देशभरका थोरै स्वतन्त्र उम्मेदवारहरू मध्ये झापाको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वागत नेपाल हाल चर्चामा छन । उनको चुनावी अभियान र बढ्दो जनसमर्थन देखेर यति बेला राजनीति दलहरू चिन्तित छन । हुन त राजनीतिक चेतना भएका युवाहरू माझ स्वागत नेपाल नौलो नाम होइन ।
झापाको क्षेत्र नं २ मा यति बेला नेपालले जित्ने चर्चा सुनिन थालेको छ । नेपालको स्पष्ट अडान, राष्ट्रवादी छवि र पुराना राजनीतिक दलहरू प्रतिको वितृष्णाका कारण पनि मतदाता माझ नेपाल लोकप्रिय बन्दै गएका छन । खास गरी युवा मतदाताहरूले नेपालको चुनावी अभियानमा समर्थन जनाएको देखिन्छ । पुराना दलहरूले पटक पटक जनता झुक्क्याएको भन्दै रुष्ट बनेका यहाँका मतदाता अब स्वागत नेपालको विकल्प नभएको भन्दै उनको पक्षमा खुलेका छन । यति बेला नेपाल झापा २ मा काँग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धन दुवैका लागि टाउको दुखाई बनेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको गठबन्धनको साझा उम्मेदवार बनेका हरि कुमार राना र एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमालेका देवराज घिमिरे दुवैले जित्ने दाबी गरिरहँदा नेपाल उनीहरू दुवैका लागि सशक्त प्रतिस्पर्धी बनेर उभिएका मात्रै छैनन् जित्ने आधार समेत बनिसकेको बताउँछन् ।
उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म एमालेमा रहेका राना आफूले टिकट नपाउने भएपछि माओवादीको चुनाव चिन्ह लिएर गठबन्धनको उम्मेदवार बनेका छन भने जनता माझ नभिजेका एमालेका घिमिरे केवल आफ्नो पार्टी भित्र मात्रै नेताका रुपमा स्थापित देखिन्छन् । एमालेकै यी २ पूर्व सहकर्मीहरूको भिडन्तले पनि स्वागतलाई चुनाव जित्न सहज देखिएको विश्लेषण हुन थालेको छ । राइट टु रिजेक्ट र राइट टु रिकल को मुद्दा उठाउँदै आएका नेपालले एमसीसी, एसपीपी, निर्मला हत्या प्रकरण जस्ता राष्ट्रिय मुद्दाहरूमा आफ्नो आवाज सशक्त रुपमा राख्दै आएका छन । राजनीतिक बेथिति र विसङ्गतिका विषयमा बोल्ने मात्र होइन कतिपय जनसरोकारका विषयमा सर्वोच्च अदालतको आदेश अनुसार कार्यान्वयन समेत गराएका छन । राजनीतिमा नदेखिएका तर राजनीतिक विषय वस्तुहरूलाई पेसागत रुपमा नजिकबाट नियालेका नेपालले देशका हितमा जनताको पक्षमा काम गर्नेमा यहाँका युवाहरू आश्वस्त छन । विद्यालय उमेर देखी नै विभिन्न सङ्गठन मार्फत राजनीतिमा देखिने नयाँ मतदाताहरू पार्टी भन्दा माथि उठेर भोट हाले नेपाललाई जित हासिल गर्न सहज देखिन्छ ।
विभिन्न क्षेत्रमा क्रियाशील देखिएका नेपाल कहिले अदालतमा देखिन्छन् त कहिले सिनेमाको पर्दामा कहिले किताबका पानाहरूमा त कहिले सञ्चार माध्यमको हेडलाइनमा । यस पटक उनी जनताका माझमा देखिएका छन । सञ्चार माध्यमबाट मात्र देखिएका उनी यस पटक जनताका घरदैलोमा देखिएका छन । जनताका दुक्ख सुखका कुरा भन्दा पनि राष्ट्रियता र राजनीतिका विषयमा आफ्ना एजेन्डाहरू लिएर भोट मागी रहेका छन ।