झापा- ३ का उम्मेदवारलाई सैनिकमोड–गोलधाप सडकले गिज्याउँदै
बिर्तामोड । जस लिन र बाटोको शिलान्यास गर्न हानथाप गरेका झापा क्षेत्र नं ३ का उम्मेदवारहरू कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनलाई सैनिकमोड – गोलधाप सडकले गिज्याइरहेको छ ।
ठेक्का लागेर पनि समयमा निर्माण सम्पन्न नहुँदा त्यस सडक भएर ओहोरदोहोर गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् । बर्खामा हिलाम्मे सडकबाट दुखले आउजाउ गरेका उनीहरूले अहिले धुलो खाइरहेका छन् । बिर्तामोड ३ को सैनिक मोडदेखि बिर्तामोड १० को सैनिक बजार हुँदै हल्दिवारीको गोलधाप जोड्ने त्यस सडकका लागि गत फागुनमहिनामा बजेट परेको हो । वर्षौँदेखि जीर्ण बनेको त्यस सडकका लागि सडक विभागले बजेट विनियोजन गर्यो । बजेट आफूले ल्याएको भन्दै अहिलेका झापा क्षेत्र नं ३ का उम्मेदवारहरू सिटौला र लिङ्देन दुवैले हानथाप गरे । लिङ्देनले शिलान्यास गर्न खोज्दा सिटौलाले कडा चेतावनी दिए । काँग्रेसको सरकार भएकाले त्यस सडकको जस लिन सिटौला नै तत्पर देखिए । तर , अहिले सडकको दुर्दशा र सर्वसाधारणले भोगिरहेको सास्तीप्रति दुवै उम्मेदवारहरू बेखबर जस्तै छन् ।
सो सडक गत फागुन १८ गते खनाल शान्ति जेभीले ठेक्का लिएको थियो । सैनिक मोडदेखि साढे ४ किलोमिटर दक्षिणसम्म असार मसान्तसम्म कालोपत्रे पूरा गर्न सो कम्पनीले भ्याटसहित ५ करोड २४ लाख ४१ हजारमा ठेक्का लिएको थियो । तर , असारभित्र काम सकिएन । बर्खामा अलपत्र पारेर छाडिएपछि सर्वसाधारणले मुस्किलले आवतजावत गरे । कति जना हिलोमा लडे कति जना खाल्डोको पानीमा डुबे । अहिले हिउँदमा समेत सो बाटोको निर्माण रोकिएको छ । रि–इस्टीमेट गरेर बाटो बनाउनु पर्ने भएकाले म्याद थप गरेर अब केही दिनमा निर्माण कार्य थालिने ठेकेदार कम्पनीका अनिल भट्टराईले बताए । ठुटेबरदेखि दक्षिण सडकमाथिबाट पानी बगेकाले अझै उसो बनाउनुपर्ने , दुई वटा ह्युमपाइप र एउटा स्लाप कल्भर्टको योजना थपिएकाले समय लम्बिएको उनले बताए । बर्खामा पानीका कारण काम गर्न नपाएको र त्यसपछि चाडपर्वले गर्दा काममा ढिलाइ भएको उनको भनाई छ । अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
बाटो समयमै निर्माण नगरेर अलपत्र छाडेपछि स्थानीयहरू आक्रोशित देखिएका छन् । सोही बाटो हुँदै दिनहुँ ओहोरदोहोर गर्ने महेन्द्र ज्योति माविका प्रधानाध्यापक देसु वनेमले नेताहरु भोट माग्नै व्यस्त रहेको जनताको मर्का बुझ्ने कोही नभएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सैनिक मोडदेखि विराट पोखर,सैनिक बजार हुँदै गोलधाप जाने सडक झापाकै व्यस्त सडकमध्ये एक हो।बर्षौंदेखि यो सडकको अवस्था जस्ताको त्यस्तै छ।वर्षामा हिलो र खाल्डाखुल्डीले हिँडिसक्नु हुँदैन भने हिउँदमा धुलाले कुइरीमन्डल हुन्छ ।गत आर्थिक वर्षमा ८करोडको र चालू आर्थिक वर्षको ९करोड संघीय सरकारबाट बजेट विनियोजन भई ठेक्का समेत लागिसकेको सुन्नमा आएको छ ।तर अहिले ठेकेदारको मुख नदेखेको धेरै भयो ।स्थानीयले सडक पटक पटक अवरुद्ध गर्दा पनि कतैबाट सुनुवाइ भएको देखिएन। अब के उपाय गर्नुपर्ला ? सरोकारवाला सबैको घैँटामा घाम लागोस् १’
त्यस्तै विराट पोखर घर भएका महेन्द्र रत्न माविका सहायक प्रधानाध्यापक केशव प्रसाईँले उम्मेदवारलाई भोट माग्न सैनिकमोड दक्षिण नझर्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सैनिकमोड सैनिक बजार सडक निर्माण कार्य किन रोकिएको हो र अब यो कहिलेबाट सुचारु हुन्छ भन्ने प्रश्नको उत्तर थाहा नहुने उम्मेदवारले भोट माग्न सैनिकमोड तल नझर्नु, अन्यथा बाटोको धुलोले‘‘‘‘‘ ।’ स्थानीयवासीले भोट माग्न आउने उम्मेदवारलाई त्यस सडकका बारेमा प्रश्न राख्ने बताएका छन् ।