२०८३ असार १३ गते , शनिबार

झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

sajilo news
झापा
२०७९ कार्तिक २४ गते , विहीबार
झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिले गरे नमुना मतदान

झापामा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् ।  नेत्रहीन युवा संघ नेपाल झापा शाखाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले भद्रपुर– २ पृथ्वीनगरस्थित सगरमाथा माविमा नमुना मतदान गराएका हुन् । 
नमुना मतदानमा अपाङ्गता, दृष्टिविहीन, अशक्त वृद्धवृद्धा गरी ६० जना जनाले मतदान गरेका थिए । त्यसमध्ये चार मत बदर भएको थियो । संघले नमुना मतदान गराउनु अघि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई मतदाता शिक्षा समेत दिएको नेत्रहीन युवा संघ नेपाल झापाका अध्यक्ष दिलकुमार राजवंशीले जानकारी दिए । संघले जिल्लाको दुधे र बिर्तामोडमा पनि अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरूलाई नमुना मतदान गराइसकेको उनले बताए । 
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर १ नम्बर वडा अध्यक्ष रामकुमार अधिकारी, २ नम्बर वडा अध्यक्ष राम कँडेल, झापा नेत्रहीन संघका अध्यक्ष द्रोणाचार्य निरौला, नगर अपाङ्गता समन्वय समितिका अध्यक्ष ऋषि चापागाईँ लगायतले मन्तव्य राखेका थिए ।  स्वागत मन्तव्य संघका सचिव होमनाथ राजवंशीले राखेको कार्यक्रमको सञ्चालन संघका कर्मचारी मुना भट्टराईले गरेकी थिइन् ।   

सम्बन्धित समाचार