२०८३ असार १३ गते , शनिबार

मोरङ–३ '१' का लागि कांग्रेसले आज उम्मेदवार मनोनयन दर्ता गराउँदै

sajilo news
झापा
२०७९ कार्तिक २४ गते , विहीबार
मोरङ–३ '१' का लागि कांग्रेसले आज उम्मेदवार मनोनयन दर्ता गराउँदै

आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ ‘१’मा आज (बिहीबार) मनोनयन दर्ता गराउँदै छ । पार्टीका तर्फबाट मनोनयन दर्ता गराएका प्रदेशसभा सदस्य पदका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले नयाँ उम्मेदवार खडा गर्न लागेको हो ।

कात्तिक २४ गते डेंगुको संक्रमण पुष्टि भएका थापालाई निमोनिया र पायल्सको समस्या पनि देखिएको थियो । थापाको बुधबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा निधन भएको हो । 

उनको निधनसँगै निर्वाचन आयोगले आगामी मंसिर ४ गते नै मतदान सम्पन्न गर्ने गरी बुधबार नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले कांग्रेसको हकमा मात्रै लागू हुने बिहीबार दिउँसो १ बजेसम्म मनोनयनको समय तोकेको छ । 

मनोनयन दर्तापछि सूची प्रकाशन र दावीविरोधको समय छुट्याइएको छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय बिहीबार र शुक्रबारलाई तोकिएको प्रदेश १ निर्वाचन प्रमुख लेवन काश्यप अधिाकरीले बताए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेपछि नयाँ उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छन् । 

यसअघि मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको थियो ।
यसैबीच नेपाली कांग्रेसले उक्त क्षेत्रमा कसलाई प्रदेशसभाको उम्मेदवार बनाउँछ भन्ने यकिन भइसकेको छैन । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार पार्टीको केन्द्रले नै उम्मेदवारको टुंगो लगाउने छ । ‘११/१२ बजेतिर उम्मेदवारको टुंगो लाग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘त्यसपछि उम्मेदवारका तर्फबाट मनोनयन दर्ता हुने छ ।’ 

उक्त क्षेत्रबाट प्रदेशसभा सदस्य पदका लागि सूयर्माराज राई, मानबहादुर लिम्बू, पर्शु कार्की, सुशील राई, वीरबहादुर बस्नेत लगायतको नाम चर्चामा छ । सूयर्माराज २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । 

सम्बन्धित समाचार