२०८३ जेष्ठ १२ गते , मंगलबार

बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा 

sajilo news
झापा
२०७९ कार्तिक २३ गते , बुधबार
बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा 

बिर्तामोड । पछिल्लो समय बैंकहरुले ब्याजदरमा गरेको चर्को वृद्धिविरुद्ध बिर्तामोडका व्यापारीहरिले सडकमा शान्तिपूर्ण विरोध र्‍याली गर्नुका साथै बैंकहरुमा ज्ञापन पत्र बुझाएका छन् ।

व्यापारीहरिले बुधवार हातमा कालोपट्टि बाँध्नुका साथै ‘ब्याजदर चर्को भो गरिखान गाह्रो भो, गरिखाने मर्दैछ सरकारको राजश्व घट्दैछ’ जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघले विरोधस्वरुप बुधवार बैंकमा कारोबार नगर्नसमेत उद्योगी व्यापारीहरूलाई आह्वान गरेको थियो ।

व्यापारीहरिले बिर्तामोडमा रहेको नेपाल बैंक लिमिटेडसहित २७ वटा बैंकका शाखामा ज्ञापन पत्र बुझाएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी दिए ।

विरोध र्‍यालीपश्चात् व्यापारीहरिले खड्का कम्प्लेक्स अगाडी कोणसभा गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, महासचिव अर्जुनकुमार मैनालीलगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

बैंकले गरेको चर्को ब्याजदर वृद्धिका कारण कैयन उद्योगी व्यवसायीहरू पलायन हुने स्थिति रहेको, कतिपयले घरबारी बेच्नु पर्ने अवस्था रहेका कारण विरोध गर्नु परेको वाणिज्य संघका उपाध्यक्ष तथा प्रवक्ता सञ्जीव घिमिरेले बताए । बैंकहरुले बेसरेटमा पाँच प्रतिशतसम्म ब्याजदर वृद्धि गर्दा व्यवसायीहरू ऋण तिर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

आगामी २७ गते आइतबार प्रदेश १ का सम्पूर्ण उद्योगी व्यवसायीहरू तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थितिमा नेपाल राष्ट्र बैंक प्रदेश १ को कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाउने, २८ गते सम्पूर्ण उद्योग वाणिज्य संघ नगरका अध्यक्षहरूले नेपाल उद्योग वाणिज्य महासंघमा ज्ञापन पत्र बुझाउने र सोपश्चात् महासंघका पदाधिकारीहरूसहित नेपाल राष्ट्र बैंकको प्रधान कार्यालयमा जाने कार्यक्रम रहेको घिमिरेले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको र्‍यालीमा झापास्थित नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल महिला उद्यमी समूह, प्रोपर्टी डिलर्स एसोसिएसन नेपाल, होलसेल मदिरा व्यवसायी संघ, नेपाल प्लाइउड उत्पादक संघलगायत दर्जन बढी सङ्घसंस्थाको सहभागिता रहेको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।

र्‍यालीमा नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल प्लाइउड उत्पादक संघका दीपक पाण्डे, महिला उद्यमी समूहका अध्यक्ष तिलोत्तमा खत्री, होलसेल मदिरा व्यवसायी संघका अध्यक्ष तेजप्रकाश बास्तोला, सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइली, उपाध्यक्ष रमेश पोर्तेल, हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मातृका कोइराला, वाणिज्य संघका सचिव कुशल खतिवडा, सह कोषाध्यक्ष राधिका चुँडाल, सदस्य तुलसा ढकाललगायत पदाधिकारीहरू र उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार