२०८३ असार १३ गते , शनिबार

निर्वाचनका दिन अपाङ्गता भएका मतदाताहरूको लागि यातायातको प्रबन्ध गरिदिन आग्रह

sajilo news
झापा
२०७९ कार्तिक २१ गते , सोमबार
निर्वाचनका दिन अपाङ्गता भएका मतदाताहरूको लागि यातायातको प्रबन्ध गरिदिन आग्रह

मंसिर ४ को निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन झापाका नेत्रहीनहरुले आग्रह गरेका छन् । झापाका अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट नेत्रहीन युवा संघ नेपाल झापा शाखाले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी त्यस्तो आग्रह गरेको हो ।

संघले निर्वाचनको दिन अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदान स्थललाई उपयुक्त अनुकूलता हुने गरी यथासम्भव पहुँचयुक्त बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तिहरूसँग साङ्केतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्नेलगायतका माग राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दिलकुमार राजवंशीले नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूले पनि राजनीतिमा सहभागिता हुन पाउने हक सुनिश्चित गरेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरू विभिन्न भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भईकन पनि आफ्नो बालिग मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै कोही पनि अपाङ्गता भएका व्यक्तिहरू आफ्नो बालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागि सम्बन्धित सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसरता लिनुपर्नेमा ध्यानाकर्षण गराए । कार्यक्रममा संघका सचिव होमनाथ राजवंशी , फिल्ड अधिकृत मुना भट्टराई , सहयोगी देवु चापागाईँको पनि सहभागिता रहेको थियो ।

यसअघि संघले आइतबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । मतदान केन्द्रमा ह्वील चियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न ह्वील चियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने , न्यून दृष्टियुक्त व्यक्तिहरूका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरू प्रस्ट रुपमा देखिने मत पत्रको रङ्ग हुनुपर्ने , म्याग्नि फाइन ग्लासको व्यवस्था हुनुपर्ने , दृष्टिविहीन व्यक्तिहरूका लागि छामेर मतपेटिकामा मतपत्र खसाल्नका लागि मतपेटिकामा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने , वेललिपी र ठुलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने , हात सम्बन्धी शारीरिक अपाङ्गता भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठुलो कलमको व्यवस्था गर्नुपर्ने, सुनाई सम्बन्धी अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेहरू उपलब्ध गराइन पर्नेलगायतका मागहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार