मेचीनगरमा ज्येष्ठ नागरिकका लागि व्यायामशाला
मेचीनगर । मेचीनगर –४ स्थित बाहुनडाँगीमा ज्येष्ठ नागरिकलाई लक्षित गरी व्यायामशाला सञ्चालनमा ल्याइएको छ । ज्येष्ठ नागरिक व्यायामशालाको शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका छन् । मेचीनगर–६, हाल हङकङ निवासी नरेन्द्रकुमार गुरुङ तथा पुष्पा गुरुङले व्याम सामाग्री उपलब्ध गराएपछि व्यायामशालाको निर्माण गरिएको हो । बाहुनडाँगी आयुर्वेदिक औषधालयको खाली जमिनमा व्यायामशाला निर्माण गरिएको छ ।
व्यामशाला उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले स्वास्थ्य जीवनका लागि व्यायामशाला अति आवश्यक रहेको बताए । उनले दैनिक रुपमा कम्तीमा एक घण्टा शारीरिक व्याम गर्न आवश्यक छ । मेचीनगरमा यो वडाबाट सुरु भएको यो अभियान अन्य वडामा पनि सुरु गर्न आवश्यक रहेको बताए । नगर प्रमुख बुढाथोकीले व्यायामशाला सञ्चालन तथा थप सामाग्रीहरूका लागि नगरपालिकाको सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा माइती नेपालका पूर्वाचल प्रमुख गोविन्द घिमिरे, शक्ति नेपालकी मिरा भट्टराई, मेचीनगर वडा नं= १ का वडाध्यक्ष रामकुमार राई, नेकपा एमालेका युवा नेता प्रवीण भण्डारी, मेचीनगर ४ का वडा सदस्य पवन बराइली लगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न व्यामशाला उद्घाटन कार्यक्रमको स्वागत वडा सदस्य गीता मगरले गरेकी थिइन् ।