आदिवासीका मुद्दामा एकजुट हुने उम्मेदवारहरुको प्रतिबद्धता
काँकडभिट्टा । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले लोकतन्त्रलाई स्थायित्व कायम गर्नु छ भने यहाँका आदिवासी जनजाति र भूमिपुत्रहरुको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।
आदिवासी जनजाति महासंघ झापाले उम्मेदवारसँग काँकडभिट्टामा गरेको अन्तरक्रियामा उम्मेदवार शर्माले वाक स्वतन्त्रतादेखि हरेक नेपालीको मौलिक सांस्कृतिक र पहिचान स्थापित गर्न सके मात्र लोकतन्त्रको स्थायित्व रहने बताए ।
काँकडभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेता शर्माले थुप्रै प्रश्नको जवाफ दिँदै राष्ट्र सक्षम रहे नेपाल सक्षम रहनेमा जोड दिँदै झापाको दमकमा रहेको आदिवासी रङ्गशालालाई स्थायित्व कायम गर्न तत्पर रहेको बताए ।
अन्तरक्रियामा एमालेका उम्मेदवार अग्नि खरेलले समग्र जातिको विकास गर्न नेकपा एमालेले दृढ सङ्कल्प लिएको बताए । उनले अगाडि भने, ‘२०६२/०६३ को जनआन्दोलनको जगलाई टेकेर संविधान बने पनि थुप्रै अधिकारहरू सुनिश्चित गर्नुपर्ने भएको हुँदा नेकपा एमाले तयार रहेको छ ।’
कार्यक्रममा सङ्घीय समाजवादीका उम्मेदवार राजा थापाले पहिचानवादी शक्तिहरू एक हुनुपर्ने बताउँदै आदिवासी जनजातिहरूको हक सुनिश्चितताको लागि आफू तयार रहेको बताए ।
क्षेत्र नम्बर १ प्रदेश सभा ‘१’ का उम्मेदवार रविन कोइरालाले स्थानीय स्तरबाट उठेका थुप्रै मुद्दा हल गर्न आफू तयार रहेको बताए । लोकतान्त्रिक बाम गठबन्धनका गोपाल तामाङले संघ सरकारले देख्न नसकेका कामहरू आफू निर्वाचित भए पूरा गर्ने वाचा गरे ।
अर्का उम्मेदवार श्यामवीर लिम्बूले पहिचानको वकालत गर्दै आएको आफ्नो पार्टी माओवादीले आदिवासीका थुप्रै मुद्दाहरूलाई समाधान गर्न लागिपरेको हुँदा आफू एक इन्च तल नहट्ने बताए ।
सङ्घीय समाजवादीबाट प्रदेश ‘२’ का उम्मेदवार ओमप्रकाश खापुङले क्षेत्र नं. १ मा आदिवासीका मुद्दा अनगिन्ती रहेको भन्दै आदिवासीका समाधिदेखि लिएर शिक्षा, स्वास्थ्यको उत्तिकै समस्या भएको हुँदा त्यसको दीर्घकालीन समाधानका लागि आफू तयार रहेको बताए ।
महासंघ अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण फोनिजका कमन देवानले गरेका थिए । महासङ्घका उपाध्यक्ष केवलराम राईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा १ नं. क्षेत्र भरिका आदिवासी जनजाति तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । यसरी नै जनजाति महासङ्घले कात्तिक १९ गते झापा क्षेत्र नं. २ मा, उम्मेद्वारहरुसँग अन्तरक्रिया गर्ने भएको अध्यक्ष चौधरीले जानकारी दिए ।