झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील, आचारसंहिता उल्लङ्घन रोक्न जनशक्ति परिचालन
झापा । झापामा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि जिल्लाभर जनशक्ति परिचालन गरिएको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुरमा आयोजना गरेको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा निर्वाचन लक्षित उच्च सुरक्षा सतर्कता, आचारसंहिता उल्लङ्घन रोक्न जनशक्ति परिचालन लगायतका विषयमा जानकारी गराइएको हो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनविरुद्ध देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै त्यस्ता गतिविधि रोक्न झापामा उच्च सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
‘निर्वाचन लक्षित कसैले मर्यादा नाघेर सडक जाम गर्ने, आवागमन अवरोध गर्ने, संविधान विपरीत काम गर्नेलाई प्रशासनले आवश्यक कारबाही गर्छ, त्यस बारेमा प्रशासन सचेत छ,’ प्रजिअ रिजालले भने ।
भारतसँग खुल्ला सीमा जोडिएको जिल्लाको २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र छन् । त्यसमध्ये २७१ केन्द्र अति संवेदनशील, ३८१ केन्द्र संवेदनशील र ११४ केन्द्र सामान्य रहेको प्रजिअ रिजालले बताए ।
ती मतदान केन्द्रहरूको निरन्तर प्रहरीले निगरानी गरिरहेको उनले बताए । जिल्लामा इजाजत लिएर सञ्चालन गर्दै आएका केही व्यक्तिले हातहतियार बुझाएको बताउँदै उनले भने, ‘नबुझाउनेहरूलाई नजिकको प्रहरी युनिटमार्फत फलो गरिरहेको छु ।’
जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत मधु पोखरेलले दल तथा उम्मेदवारहरूले मात्र नभई सबैले निर्वाचन चारसंहिता पालना गर्नु पर्नेमा जोड दिए । ‘जिल्लामा केही छिटपुट रुपमा आचारसंहिता घटना उल्लङ्घन भएको छ,’ उनले भने, ‘गम्भीर रुपमा आचारसंहिता उल्लघंनका घटना भने भएको छैन ।’
आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि पाँच वटा निर्वाचन अधिकृतको कार्यालय, १५ वटै पालिकामा खटिएका कर्मचारी र प्रहरी परिचालन गरिएको उनले बताए । मौन अवधि शुरु भएसँगै आचारसंहिता उल्लघंनका घटना बढ्ने भएकाले सो अवधिमा जानकारी गराइदिन सञ्चारकर्मीलाई उनले आग्रह गरे ।
जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जिल्ला निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।
स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएको र हाल जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उनले बताए । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेको छ । जिल्लामा दुई वटा मतदान स्थल अस्थायी रुपमा तयारी गरिएको छ ।
कैदीबन्दीका लागि झापा कारागार भद्रपुरमा एउटा र प्रहरी, कर्मचारी लगायतका अन्य नागरिकका लागि सदरमुकाममा अर्को मतदान केन्द्र तयारी गरिएको उनले बताए । जिल्लामा ६ हजार २४२ जना अस्थायी मतदाता नामावली तयारी गरिएको र उनीहरूले अस्थायी मतदान केन्द्रमा मतदान गर्ने पाउने उनको भनाई छ ।
मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउन जिल्लाका १३१ वटै वडामा रहेका महिला स्वयमसेविकाहरुलाई परिचालन गरिएको छ । उनीहरूले मतदान प्रक्रियाका विषयमा घरदैलो मार्फत मतदातालाई सहजीकरण गर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले निर्वाचन शिक्षा आम मतदाता समक्ष पुर्याउने भूमिका सञ्चारकर्मीको महत्त्वपूर्ण रहेको बताए । आचारसंहिता पालना गर्न जिल्लाका सञ्चारकर्मीहरू सकारात्मक रहेको उनको भनाई छ ।