२०८३ भाद्र १० गते , बुधबार
झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते
झापामा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बुधवार साँझ ६ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी –९ स्थित मिलन चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख २३२१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो। दुर्घटनामा परी दमक–५ बस्ने २५ वर्षीय निर्मल दासको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार १८ वर्षीय सौरभ मदक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा संलग्न ध्रुव तारा यातायातको उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।