इटहरी राजस्व कार्यालयमा दुई प्रमुख : पुरानाले छाडेनन्, नयाँ जिम्मेवारीविहीन
सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा सरुवा भएर आएका नयाँ प्रमुख जिम्मेवारीविहीन बनेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहने राजस्व कार्यालयको प्रमुखका रूपमा गत असोज २६ गते नेपाल सरकारका उपसचिव खेमराज ओझाको सरुवा भएको थियो। निर्वाचन आयोगको सहमति अनुसार राजस्व प्रमुख तीर्थराज खनाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो। खनालका ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ओझालाई प्रमुख बनाएर पठाएको हो।
तर असोज २७ गते राजस्व कार्यालयमा हाजीर भएका ओझाले अहिलेसम्म पदभार ग्रहण गर्न पाएका छैनन्। सरुवालाई अटेर गरेर प्रमुखको हैसियतमा खनालले नै काम गरिरहेका कारण पदभार ग्रहण गर्न नपाउँदा ओझा जिम्मेवारीविहीन बनेका हुन्। सरकारले गरेको सरुवालाई चुनौती दिँदै बसिरहेका खनालका कारण दैनिक कामकाजमा कठिनाई भएको राजस्व स्रोतले बतायो।
राजस्व प्रमुखका रूपमा २०७८ कात्तिक ३ गते सरुवा भएर खनाल आएका थिए। आफ्नो कार्यकालभरि विवादैविवादमा मुछिएका उनी अहिले सरकारको सरुवालाई चुनौती दिएर बसिरहेका हुन्। खनालले सरुवा भएको ठाउँमा जान मन नगर्दा प्रमुख बनेर आएका ओझाले कामकारबाहीको जिम्मेवारी पाउन सकिरहेका छैनन्। उनी नियमित कार्यालयमा जाने र हाजीर गरेर फर्कने मात्रै गरिरहेका छन्।
एउटा कार्यालयमा दुई जना प्रमुख हुँदा दैनिक तथा प्रशासनिक कामकारबाहीमा समस्या भइरहेको एक कर्मचारी बताउँछन्। ‘पुरानालाई सरुवा गरेर सरकारले नयाँ प्रमुख पठायो। नयाँ प्रमुख हाजीर भइसकेको लामो समय भयो,’ एक कर्मचारी भन्छन्, ‘तर पुरानाले छाड्न मानेका छैनन्। नयाँले जिम्मेवारीविहीन बनेर बस्नु परिरहेको छ।’ अहिलेसम्म पुराना प्रमुखले नै सबै काम गरिरहेको उनले बताए। ती कर्मचारीका अनुसार नयाँ कार्यालय प्रमुख आइसकेपछि तत्काल सरुवा भएको ठाउँमा जानुपर्ने खनाल भने तिहारपछाडि मात्रै राजस्व छाड्ने अडान लिएर बसिरहेका छन्।
‘नयाँ कार्यालय प्रमुख सरुवा भएर आएपछि पुराना जानुपर्ने हो। तर पुरानाले छाड्न नमान्दा अन्योलता सिर्जना भएको छ,’ उनले भने, ‘कर्मचारीले कसलाई प्रमुख मान्ने भन्ने अन्योलका कारण कार्यालयको नियमित कामकारबाही प्रभावित भइरहेको छ। सरुवा भएका ठाउँमा जान मन नगर्नुले खनालको नियत सफा देखिएन।’ सरुवाको प्रक्रिया पूरा भए पनि व्यक्तिगत स्वार्थका कारण खनालले राजस्व कार्यालय छाड्न नमानेको कर्मचारीहरु बताउँछन्।
सेवाग्राहीलाई दुव्र्यवहार एवं अश्लिल शब्दले गाली गर्ने, भन्सार कार्यालयसँगको मिलेमतोमा तस्करीको धन्दा चलाउने, तस्करको आरोप लगाएर सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुटपिट गर्ने र तस्करीमा संलग्न सवारीसाधन तथा मानिसलाई बिना कारबाही छाडिदिने लगायतका विवादमा खनाल मुछिएका छन्। भारततिर तस्करी गरेको आशंकामा विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाएको ८ ट्रक सुपारी दसैं छुटिट्को मौका पारेर खनालले बिना अनुसन्धान र कारबाही छाडिदिएको पाइएको थियो। माथिल्लै निर्देशनअनुसार सुपारी छाड्नु परेको खनाल बताउँछन्। स्रोतका अनुसार विभिन्न विवादमा मुछिँदै गएकाले पनि सरुवा गरेर उनका ठाउँमा नयाँ प्रमुखलाई पठाउनुपर्ने अवस्था आएको हो।
राजस्व कार्यालयले राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण गर्दैै आएको छ। इटहरीमा २०६९ सालमा स्थापना भएको कार्यालयको जिम्मेवारी राजस्व छली नियन्त्रण, अनुसन्धान र कारबाही गर्ने हो। तर संवेदनशील कार्यालयमा व्यक्तिगत स्वार्थ हाबी हुँदा दैनिक कामकाज प्रभावित बन्नेको एक कर्मचारीको भनाइ छ। उनका अनुसार खनालले राजस्व नछाड्दा चाडपर्वका बेलासमेत काम गर्न अप्ठेरो भइरहेको छ।
‘पुराना कार्यालय प्रमुखले जान नमान्दा नयाँले जिम्मेवारी पाउन गाह्रो भयो। कसरी काम गर्ने भन्ने हामी अन्योलमा परेका छौं,’ उनले भने, ‘सरुवाको प्रक्रिया पूरा हुँदा बलमिच्याइँ गर्नु ठीक हैन। सरकारले सरुवा गरेको ठाउँमा कर्मचारीले जान्न भन्न मिल्दैन। सरुवा भएको ठाउँमा जान नमानेकाले खनालका बारेमा अनेक टिकाटिप्पणी भइरहेको छ।’
खनालले भने सरुवा भएको ठाउँमा आफू जाने बताए। ‘सरुवा भएको ठाउँमा नजाने कुरा हुँदैन। तर तिहार मनाएर मात्रै जान्छु,’ उनले भने, ‘चाडपर्वका बेला यता र उता गर्न अप्ठेरो हुन्छ। कार्यालय नछाडेसम्म म नै प्रमुख हुँ।’ खनालले आफू प्रमुख भएर काम गर्दा कसैलाई पनि अप्ठेरो नभएको दाबी गरे। अन्नपूर्णबाट