झापामा राति १० बजेपछि देउसी/भैलो खेल्न रोक
झापा । जिल्ला प्रशासन कार्यालय झापाले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शान्ति सुरक्षालाई दृष्टिगत गरी राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाइएको बताए ।
उनले तोकिएको समय सीमाभित्र मात्रै देउसी÷भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको बताए । प्रशासनको आदेश उल्लङ्घन गरेमा कानुनअनुसार कारबाही गरिने उनले बताए ।
चाडबाडमा विभिन्न किसिमका आपराधिक घटना हुनसक्ने भएकाले सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
उनले चाडबाडमा बैङ्क तथा वित्तीय संस्था ,मठमन्दिर ,पोखरी र मुख्य पसलहरूमा असुरक्षा हुनसक्ने भएकाले जनपदसँगै सिभिल प्रहरी परिचालन गरिएको जानकारी दिए । प्रशासनले पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।