२०८३ बैशाख २४ गते , विहीबार

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

sajilo news
झापा
२०७९ कार्तिक २ गते , बुधबार
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

 सरकारले बुधबार र बिहीबार देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका उमेरका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए खुवाइने छ। यस्तै २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य  छ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ। सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ।

सरकारले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार