मेची-महाकाली बुहारी आवाजद्वारा बालबालिकालाई खाद्यान्न सामग्री वितरण
तिहार तथा छठ पर्वको अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्त मनस्थिति सरोकार समाज कनकाई– मा आश्रित बालबालिकालाई खाद्यान्न एवं दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा पदाधिकारी, सदस्य एवं आजीवन सदस्यहरूको टोलीले चामल , दाल तेल , नुन , चिनी, आलु सोयाविन, चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न सामग्री र भाडा धुने साबुन , नुहाउने , लुगा धुने लगायतका १५ हजार मूल्य बराबरको उपभोग्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष एवं सञ्चालक शान्ता पोखरेललाई अध्यक्ष खड्कासहितको टोलीले उक्त सामग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष गङ्गा भट्टराई, सचिव कविता थापा, सहसचिव अम्बिका गिरी, कोषाध्यक्ष परूँ सुवेदी लगायत सदस्य र आजीवन सदस्यहरूको सहभागिता रहेको थियो ।
पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग एवं सुस्त मनस्थिति भएकासहित गरी सुस्त मनस्थिति सरोकार समाज कनकाईमा १६ जना बालबालिका आश्रित रहेको पोखरेलले जानकारी दिइन् । मेची–महाकाली बुहारी संयुक्त आवाजको सहयोगप्रति आभार व्यक्त गर्दै उनले सबैको सहयोग र सद्भावबाट मात्रै संस्था सञ्चालन गर्न सकिने बताइन् ।