झापामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
झापा । झापामा दुईवटा मोटरसाइकल एक आपससँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नाबालिकासहित दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-२ निवासी २५ वर्षीय अनीश साउदेन र सोही गाउँपालिका-६ निवासी ४३ वर्षीय भोलाराज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार बिर्तामोड- ५ चारपाने बेलडाँगीस्थित भित्री सडक खण्डमा सोमबार अपराह्न ४।४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ५५८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
दुर्घटनामा परी मे५प १६०४ नम्बरको मोटरसाइकलका चालक साउदेन र मे३प ५५८० नम्बरको मोटरसाइकलका चालक भुजेलको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पाठकले बताए।
दुर्घटनामा मे३प ५५८० नम्बरको मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र उनकी छोरी ९ वर्षीया प्रसन्ना भुजेल घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।