हराएका २१ मोटरसाइकल र स्कुटर भेटिए
हराएका २१ दुई पांग्रे सवारी साधन बरामद गरी ट्राफिक प्रहरीले सवारी धनीलाई हस्तानान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।
चोरी भएका दुई पाङ्ग्रे सवारी साधनबारे सवारी धनीले दिएको उजुरीका आधारमा खोजतलास गर्दा १५ मोटरसाइकल र ६ स्कूटर भेट्टाएर हस्तान्तरण गरिएको रोकाले बताए ।
गत साउनदेखि असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको गुनासोसहितका ४०२ निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएका थिए । सोही आधारमा खोजतलास गर्दा १५९ साधन फेला परेका थिए ।
साउन महिनामा ६८ र भदौ महिनामा ३८ सवारी साधन बरामद गरी सवारी धनीलाई जिम्मा लगाइएको रोकाले बताए । सोमबारसहित असोजमा ३२ सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । असोजमा चोरीको एउटा मोटरसाइकलसहित नियन्त्रणमा आएका एक जनालाई आवश्यक कारवाहीको लागी सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक रोकाले जानकारी दिए ।