प्रदेशसभा सदस्य उम्मेदवार गगन पुरीविरुद्ध परेको रिट सर्वोच्च अदालतद्वारा खारेज
झापा । झापा क्षेत्र नम्बर ५ (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन पुरीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अधिवक्ता अनिल आचार्यले माओवादी नेता पुरी, काँग्रेस नेता विजयकुमार गच्छदारसहित नौ जनाको उम्मेदवारी कायम हुन नसक्ने दाबीसहित सार्वजनिक सरोकारको रिट सर्वोच्चमा दायर गरेको थियो ।
आज सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो । सर्वोच्चले रिट खारेज गरिदिएसँगै गठबन्धनका साझा उम्मेदवार गिरीले आफू माथिको षडयन्त्र सर्वोच्चले रोकिदिएको बताए । आफू माथि राजनीतिक प्रतिशोध साँधेर षडयन्त्र गरिएको भन्दै सत्यको जित भएको उनको भनाई छ । आफ्नो जितको माहौलबाट पराजित मानसिकता बोकेका र निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएकाहरूको षडयन्त्र सर्वोच्चले रोकेको भन्दै पुरीले आफ्नो विजयका यात्रा सुरु भएको बताए ।
गत बिहीबार अधिवक्ता आचार्यले पुरी, गच्छदारसहित, प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेक बहादुर गुरुङ, लक्ष्मी महतो र युद्ध विक्रम तामाङको उम्मेदवारी खारेज गर्न रिट दायर गरेका थिए ।