२०८० फाल्गुन १० गते , विहीबार

झापाका मत्स्यपालक किसानहरू संगठित, अध्यक्षमा होमप्रसाद सिटौला 

sajilo news
झापा
२०७९ आश्विन २९ गते , शनिबार
झापाका मत्स्यपालक किसानहरू संगठित, अध्यक्षमा होमप्रसाद सिटौला 

झापा । व्यावसायिक रुपमा  मत्स्यपालन गर्दै आएका झापाका मत्स्यपालक किसानहरू संगठित भएका छन् । शनिवार बिर्तामोड- ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभा हलमा भएको  नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका सञ्चालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा रमेश थापा कमल,  सचिव सुशील राजवंशी बाह्रदशी , सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा  मोहन पायम  कचनकवल रहेका छन् । त्यस्तै सदस्यहरूमा हरि मैनाली बिर्तामोड , लक्ष्मी सिवाकोटी बिर्तामोड , राजेश देवान बिर्तामोड ,  भीम योङहाङ हल्दिवारी , आइतराज  लिम्बू बाह्रदशी ,  सुमन न्यौपाने बिर्तामोड ,  दीपक सुवेदी बाह्रदशी , मुरलीधर सिंह राजवंशी गौरीगञ्ज ,  राजु सापकोटा अर्जुनधारा, गंगाप्रसाद पौडेल हल्दिवारी,  सुरेश तामाङ भद्रपुर  र जयसिंह राजवंशी कचनकवल रहेका छन् ।  तीन वर्षे कार्यकालका लागि गठित १७ सदस्यीय समितिमा पछि चार जना थप गरिने जनाइएको छ । नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा भएको अधिवेशनको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उद्घाटन गरेका थिए ।

सङ्ग्रौलाले माईपूर्वका आठ वटा पालिकाहरूले मरेका र फर्मालिन प्रयोग गरिएका भारतीय माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाउँदै त्यस काममा आउन सक्ने बाधा व्यवधान स्थानीय सरकारले व्यहोर्ने बताए । उनले  भारतीय माछामाथि प्रतिबन्ध लगाएर  माछामा आत्मनिर्भर बनाउन स्थानीय किसानहरूले उत्पादन बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै  बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले मत्स्यपालक किसानहरूको  लागि संगठनको जरुरी रहेकोमा संगठित भइसकेपछि अब  माछाको बजारीकरण, औषधी, दाना र प्राविधिकको व्यवस्थापन गरिनुपर्ने बताए । 

उनले दानाको लागि बिर्तामोडमा  वायर हाउसको आवश्यकता रहेको बताए । हेभन पार्कका सञ्चालकसमेत रहेका सिवाकोटीले आफूले रु २५० मा थोक र ३०० मा खुद्रा मूल्यमा माछा बिक्री गरिरहेको बताउँदै  माछाको मूल्यमा एकरूपता हुनुपर्ने बताए । कार्यक्रममा सहभागी मत्स्यपालक किसानहरूले पालिकाहरूले अस्वस्थकर भारतीय माछा प्रतिबन्ध लगाएकोमा खुसी व्यक्त गरेका थिए ।  लक्ष्मीप्रसाद सिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटी सदस्य  दुर्गाप्रसाद सेडाईले गरेका थिए । अधिवेशनमा  झापाका  सबै नगरपालिका र  गाउँपालिकाबाट ५० भन्दा बढी मत्स्यपालन किसानहरूको सहभागिता रहेको थियो । झापामा ३ सयभन्दा बढी मत्स्यपालन किसानहरू रहेका छन् ।  जिल्लामा करिब ७ सय विगाह क्षेत्रफलमा  माछा पालन भइरहेको प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष सिवाकोटीले बताए ।       

सम्बन्धित समाचार