२०८३ बैशाख २३ गते , बुधबार

गुरुङको हत्या संलग्न फरार आरोपी अर्जुनधाराका सुब्बा पक्राउ

sajilo news
झापा
२०७९ आश्विन २७ गते , विहीबार
गुरुङको हत्या संलग्न फरार आरोपी अर्जुनधाराका सुब्बा पक्राउ

अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या पछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा भन्ने कुमार आङदाङवे रहेका छन् । उनलाई हिजो काँकडभिट्टा स्थित एक चिया दोकानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले बताए । फरार रहेका ती व्यक्तिलाई डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दसैँको नवमीको दिन तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर भएको घटनामा संलग्न इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा वडा नं ११ स्थित ताप्लेजुङ इलाम होटेलका सचालक ३८वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटेलका स्टाफ २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटेलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया विमला राईलाई असोज २० गते नै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए ।

होटेलको पहिलो तलामा होटेलका सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य, मृतक गुरुङ र कुमार सुब्बा बिच मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा भएको थियो । त्यस क्रममा होटेल सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य र फरार रहेर हिजो पक्राउ परेका कुमार सुब्बाले गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङ्गाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाई सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटेलबाट अचेत अवस्थाका गुरुङलाई १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उत्तरतर्फ जाने सडक बाटो किनारामा फालिएको अवस्थामा गुरुङको शव फेला परेको थियो । पक्राउ परेका लिम्बुलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार