भद्रपुरमा बन्दुक पड्काएर भित्राइयो फूलपाती
भद्रपुर । माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै भद्रपुरमा धूमधामका साथ फूलपाती भित्राइएको छ । नेपालीहरूको महान् चाड बडा दसैँ सुरुसँगै आज महासप्तमीको दिन पारेर भद्रपुरमा फूलपाती धूमधामका साथ भित्राइएको हो ।
भद्रपुर नगरपालिका ६ स्थित सार्वजनिक दुर्गा मन्दिर समितिले मन्दिरमा परिसरमा आयोजना गरेको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले माता दुर्गा भवानीको विशेष पूजा अर्चना गरेका थिए । सोही अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा दुर्गा मातालाई चार पटक सलामी अर्पण गरेका थिए ।
मन्दिरमा पूजा अर्चना पश्चात् जिल्ला स्तरीय प्रहरी, प्रशासन प्रमुख, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, बालबालिका, आयोजक समिति, लगायतको सहभागितामा बाजागाजा सहित निकालिएको रयाली बजार परिक्रममा गर्दै भद्रपुर भन्सार कार्यालयमा पुगेर फूलपाती भित्राएका थिए । धार्मिक परम्परा अनुसार भन्सारमा परिसरमा विशेष पूजामा प्रमुख जिल्ला रिजालले पुनः पूजापाठ, जमरा, होम, बलि तथा बढाइँ दिएका थिए । त्यहाँ नेपाली सेना बन्दुक पड्काएर सलामी दिएका थिए ।
दुर्गा मन्दिर पूजा आयोजक समितिका अध्यक्ष पारस यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, पूर्व मेयर जीवनकुमार श्रेष्ठ, प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी बल नेपाल, झापा गण नम्बर २ का एसपी प्रदिपजंग कार्की, राष्ट्रिय अनुसन्धानका उप निर्देशक तिलक पाण्डे लगायत जनप्रतिनिधि, उद्योगी, व्यापारी, नगरवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।



