यस बर्ष देवीको आगमन हात्तीमा
नेपालीहरूको महान चाडका रूपमा रहेको बडा दसैंमा देवीको आगमन र गमनलाई दुवैलाई महत्वका साथ हेरिने गरिन्छ। धार्मिक मान्यताअनुसार देवीको आगमन र गमनले मानवीय जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको महत्व बेग्लै छ।
देवीको आगमन साइत अनुकुल भए यसले मानवीय जीवनमा सकारात्मक प्रभाव पर्ने विभिन्न धर्मशास्त्रहरूमा उल्लेख छ।
यसवर्ष देवीको आगमन साइत अनुकुल नरहेपनि गमन भने सुखद् नै रहेको पुरोहितहरूले बताएका छन्। पञ्चाङ्ग अनुसार यसपटकको नवरात्रमा देवी भगवतीको आगमन हात्तीमा र गमन डुङ्गामा हुँदैछ।
हात्तीमा सवार भएर देवीको आगमन हुँदा अतिवृष्टि अर्थात् अत्याधिक वर्षा हुने धार्मिक मान्यता रही आएको विराटनगरस्थित काली मन्दिरका मुख्य पुजारी विष्णुहरि दाहाल बताउँछन्।
हिन्दु धर्मशास्त्रअनुसार साप्ताहिक बारको आधारमा देवी भगवतीको आगमन र गमन निश्चित हुने गर्दछ। नवरात्रको सुरुवात आइतबार वा सोमबार भए देवीको आगमन हात्तीमा र शनिबार वा मंगलबार भए देवीको आगमन घोडामा हुने विश्वास गरिन्छ।
यस्तै, बिहीबार वा शुक्रबार नवरात्र प्रारम्भ भए देवीको आगमन भने डोलीमा हुने धार्मिक मान्यता छ। यसपटक सोमबारको दिनबाट नवरात्र सुरु भएकाले माता दुर्गाको आगमन हात्तीमा हुने भएको पुरोहितहरूले बताएका छन्।
उनीहरूका अनुसार हात्तीमा माता दुर्गाको आगमन शुभ सङ्केत नमानिएपनि साँचो हृदयबाट पूजाआजा गर्नेहरू यो अशुभ प्रभावको भागिदार नहुने शास्त्रहरूमा वर्णन गरिएको छ।