२०८३ भाद्र १४ गते , आईतबार

बिर्तामोडमा भारतबाट आयातित माछा बोकेको पिकअप नियन्त्रण

sajilo news
झापा
२०७९ आश्विन ११ गते , मंगलबार
बिर्तामोडमा भारतबाट आयातित माछा बोकेको पिकअप नियन्त्रण

भारतबाट आयातित माछा बोकेको एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिकाबाट खटिएका नगर प्रहरीले प्रदेश –१–०१–००१ च ७४०८को पिकप भ्यान मंगलबार बिहान ४ः३० बजे बिर्तामोडस्थित अञ्जली हस्पिटल छेउबाट नियन्त्रणमा लिएको हो । भारतबाट आयातित अस्वस्थकर मरेका माछाको विक्री वितरण गर्न नगरपालिकाले रोक लगाएको छ ।

सोही अनुसार नगर प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनिको सहयोगमा माछा बोकेको पिकअप नियन्त्रणमा लिएर नगरपालिका लगेको छ । चालक र माछा व्यापारी भने नगरपालिकाको सम्पर्कमा आएको छैन । बिर्तामोडको कृषि थोक बजारमा मरेका माछा लान र बिक्री गर्न प्रतिबन्ध लगाएपछि माछा व्यापारीहरूले अञ्जली हस्पिटल छेउमा गाडी रोकेर त्यहीँबाट साइकलमा माछा ओसार्ने योजना बनाएको आशङ्का गरिएको छ ।

ती माछाको बारेमा अनुसन्धान भइरहेको बताउँदै उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले गुणस्तर विभागलाई जानकारी गराई आवश्यक कानुनी कारबाही अगाडि बढाउने जानकारी दिए । नगरपालिकाले गत असोज १ गते भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार