२०८३ बैशाख ३ गते , विहीबार

झापामा प्रदेशस्तरीय छनोटका खेलहरू जारी, भोलि खो–खो र तेक्वान्दो हुने

sajilo news
झापा
२०७९ भाद्र ३१ गते , शुक्रबार
झापामा प्रदेशस्तरीय छनोटका खेलहरू जारी, भोलि खो–खो र तेक्वान्दो हुने

(रोहित काफ्ले) भद्रपुर । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरू जारी रहेको छ ।

बिहीबार झापाको दमकमा सुरु भएको महिला भलिबलका खेलहरू जारी रहेको छ भने शुक्रबार मेचीनगरमा महिला क्रिकेट प्रतियोगिता भएको झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

काँकडभिट्टा माविको मैदानमा भएको महिला क्रिकेट प्रतिस्पर्धामा झापाको टिमले मोरङको टिमलाई ९ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ५२ रन बनाएको थियो भने जवाफमा झापाले १ विकेट गुमाएर १० ओभरमा लक्ष्य पार गरेको कोच वीरु श्रेष्ठले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रतियोगिता उद्घाटन गरिएको थियो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बलिङ र उपप्रमुख मिना पोखरेल उप्रेतीले ब्याटिङ गरेर खेलको उद्घाटन गरेका थिए ।

समितिका सचिवालय सदस्य दुगौराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा क्रिकेट खेलाडी छनोट समितिका संयोजक एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शङ्कर थापाले स्वागत गरेका थिए । समारोहमा मेची भन्सार प्रमुख केशवराज ओली, पूर्व क्रिकेटरहरू लाक्पा लामा, प्रदीपराज पाण्डे, हितेन्द्रमान श्रेष्ठलगायतको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगण दुर्वासा कार्कीले जानकारी दिए ।

बिहीबार दमकमा समितिका अध्यक्ष भण्डारीकै अध्यक्षतामा १ नं प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगिताको उद्घाटन गरेका थिए ।

शनिवार बिहान मेची रङ्गशालामा खो–खो र बिर्तामोडको सिटी सेन्टरमा तेक्वान्दो खेलका प्रतिस्पर्धाहरू हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णु नेम्बाङले जानकारी दिए । प्रतिस्पर्धाका लागि जिल्लाबाहिरका टिम र खेलाडीहरू आइसकेको पनि उनले जानकारी दिए ।

बक्सिङ झापामै  

सुरुमा उदयपुरमा आयोजना गर्ने भनिएको बक्सिङ खेल झापामै हुने भएको छ । विविध कारणले उदयपुरमा हुन नसकेको प्रतियोगिता धरानमा गर्ने भनिए पनि अन्तिम समयमा झापामा गर्ने निर्णय भएको र झापाको दमकमा त्यसको तयारी गरिएको बक्सिङका प्रशिक्षक भोजराज सिटौलाले जानकारी दिए । 

 

सम्बन्धित समाचार