२०८३ बैशाख ३ गते , विहीबार

प्रदेशस्तरीय छनोटका लागि झापाली खेलाडीको बिदाइ

sajilo news
झापा
२०७९ भाद्र ३० गते , विहीबार
प्रदेशस्तरीय छनोटका लागि झापाली खेलाडीको बिदाइ

रोहित काफ्ले ।  नवौं राष्ट्रिय खेलकुदअन्तर्गत १ नं प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरूको तयारी लगभग पूरा भएको छ ।

झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरू जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिए । 

भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष खो–खो र आर्चरी खेल हुनेछन् भने काँकडभिट्टामा महिला क्रिकेट र ब्याडमिन्टन, दमकमा महिला भलिबल, तथा बिर्तामोडमा तेक्वान्दो र शारीरिक सुगठनका खेलहरू हुने समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

मंगलबार खेलकुद विकास समितिको पदाधिकारी तथा प्रशिक्षकहरूको टोलीले खेलहरू सञ्चालन हुने स्थल र त्यहाँको व्यवस्थापकीय पक्षको निरीक्षण तथा अनुगमन गरेको छ । सीमित स्रोत–साधनका वावजुत प्रतियोगितालाई उत्कृष्ट र सफल बनाउन समिति लागिपरेको अध्यक्ष भण्डारीले बताए ।

झापामा बिहीबार दमकमा महिला भलिबलको खेलसँगै झापामा सञ्चालन हुने खेलहरूको उद्घाटन हुने समितिका उपाध्यक्ष गंगा भुर्तेलले जानकारी दिइन । उनले जहाँ जुन खेल हुन्छ त्यहीँ खेलको उद्घाटन गरिने पनि बताइन् । झापामा भदौ ३० देखि असोज ५ गतेसम्म खेलहरू सञ्चालन हुने समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति झापाले जिल्लाबाहिर खेल्न जाने खेलाडीहरूलाई बिदाइ गरेको छ । मंगलबार मेची रंगशालामा एथलेटिक्सका खेलाडीहरूलाई जीतको शुभकामनासहित बिदाइ गरियो । प्रशिक्षक गोपाल यादको नेतृत्वमा रहेको एथलेटिक्स टोलीलाई समितिका अध्यक्ष भण्डारीले झापाको जर्सी र झन्डा प्रदान गर्दै जीतको शुभकामना दिएका थिए । 

त्यसैगरी, बिर्तामोडमा पुरुष भलिबलका खेलाडी र अफिसियल, कनकाईमा महिला फुटबल र टेवलटेनिसका खेलाडी र अफिसियल तथा दमकमा आरटीएफ तेक्वान्दोका खेलाडी–अफिसियल र बुद्धिचालका खेलाडीलाई झापाको जर्सी र झन्डा प्रदान गरेर बिदाइ गरिएको समितिका सदस्य तथा प्रवक्ता जगण दुर्वासा कार्कीले जानकारी दिए । जिल्लाबाहिर हुने खेलको तालिका अनुसार खेलाडीहरू जाने र त्यसै अनुसार समितिले बिदाइ गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रदेशस्तरीय प्रतियोगितामा झापाबाट ४४९ खेलाडीले २७ विधाका खेलमा प्रतिस्पर्धा गर्दैछन् । प्रदेशस्तरीय प्रतियोगितामा मेडल प्राप्त गर्ने खेलाडी र टिमलाई सम्मान समितिले सम्मान गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार