श्रीलंकाले जित्यो छैटौँ पटक एसिया कपको उपाधि
झापा । एसियाकप टी–२० क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। आइतबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो।
आठ वर्षपछि उपाधि जित्ने क्रममा श्रीलंकाले बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो। यसअघि २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो। श्रीलंकाले छैटौँ पटक एसिया कपको उपाधि जितेको हो।
पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो। उसका लागि तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ तथा इफ्तिखर अहमेदले ४२ रन तथा थप दोहोरो स्कोरका रुपमा हरिफ रउफले १३ रन बनाएका थए। उसका अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका प्रमोद मधुसनले ४ विकेट लिए। त्यस्तै वानिन्दु हसरंगाले ३ विकेट हात पारे।
त्यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाको पनि सुरुवात खराब रहेको थियो। उसले ५८ रन जोड्दा ५ विकेट गुमाएको थियो। तर श्रीलंकाको इनिङ्स भानुका राजापाक्ष र वानिन्दु हसरंगा डि सिल्भाले समालेका थिए। उनीहरूले छैटौँ विकेटका लागि ५८ रनको साझेदारी गरे। त्यस्तै राजपाक्ष र चामिका करुनारत्नेले सातौँ विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे।
राजापाक्षले आफनो इनिङमा ४५ बल खेल्दै ६ चौका र ३ छक्काको सहयोगमा ७१ रनको नटआउट इनिङ खेल्दा हसरंगाले २१ बलमा ४६ रन बनाए। त्यस्तै करुनारत्ने १४ रनमा नटआउट रहँदा थप दोहोरो स्कोरका रुपमा धनञ्जय डी सिल्भाले २८ रन जोडेका थिए। पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिएका थिए।