मेचीनगरमा पूजाको प्रसाद खादा एकै गाउँका ३५ जना बिरामी
छिमेकीको घरमा पूजाको प्रसाद खादा एकै पटक ३५ जना बिरामी परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ मिश्र डाँडास्थित जनम थापा मगरको घरमा लगाइएको पूजाको प्रसाद खादा एकै गाउँका ३५ जना बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
थापा मगरको घरमा आइतबार श्रीमान् भीम मगरको एक वर्षको बरखान्त सकेर सोमबार पूजा लगाएका थिए । पूजामा प्रसाद खान पुगेका आफन्त र छिमेकीहरू मङ्गलवार बिहानदेखि बिरामी पर्न थालेको डीएसपी महतोले बताए । अधिकांश बिरामी महिला र बच्चाहरू रहेको बताइएको छ ।
उनीहरूको धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्ता सिटी, वीएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगायत स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले बिरामीहरूलाई फुड पोइजन भएको जानकारी दिएको डीएसपी महतोको भनाई छ ।
करिब २० दिनअघि फुड पोइजनका कारण काँकडभिट्टा माविका ३२ जना विद्यार्थी बिरामी परेका थिए । विद्यालयको क्यान्टिनमा छोला मुरै खाएपछि विद्यार्थीहरू बिरामी परेका थिए । विद्यार्थीहरू बिरामी प्रहरीले क्यान्टिन सञ्चालकलाई पक्राउ समेत गरेको थियो ।