भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर
भद्रपुर । भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर सञ्चालनमा आएको छ । सरिया परिवारको आयोजना, इनरव्हील क्लब अफ भद्रपुरको सह–आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।
भद्रपुरस्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका थिए । जग्गादाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, रोटरी क्लब अफ भद्रपुर, इनरव्हील क्लब अफ भद्रपुर र मेची आँखा अस्पतालका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । तालिम संयोजक युवराज बोहोराले सञ्चालन गरेको शिविरको पहिलो दिन करिब २ सय जनाको आँखा जाँच, ३२ जनाको शल्यक्रिया र ४ जनाको ऐजेरु पलाएको उपचार गरिएको थियो ।
उद्योगी चण्डी पराजुलीले स्वागत गरेको कार्यक्रममा इनरव्हील क्लबका अध्यक्ष कुसुम अधिकारी पराजुली, मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीलगायतले शुभकामना मन्तव्य राखेको अस्पतालकी आउटरिच अफिसर कविता कार्कीले बताइन् । शिविर भदौ २२ गतेसम्म सञ्चालन हुनेछ ।