नाइट क्लब र डान्स बारमा बेच्ने महँगो ब्रान्डका रक्सी नक्कली, दुई फ्याक्ट्रीमा प्रहरीको छापा
विभिन्न ब्रान्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले दुई फ्याक्ट्रीमा छापा मारेको छ । काठमाडौँको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्रान्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लु डाइमेन्ड लगायतका ब्रान्डका नक्कली रक्सी बरामद भएको छ ।
प्रहरीले रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायत पनि बरामद गरेको छ । प्रहरीले विभिन्न ब्रान्डका नाममा नक्कली मदिरा उत्पादनमा संलग्न पाँच जनालाई पक्राउ पनि गरेको छ ।
यसरी पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका९१ घर भई काठमाडौँको कोटेश्वरमा बस्दै आएका २४ वर्षीय हरि वली, भीमेश्वर नगरपालिका९८ घर भई भक्तपुरको चाँगु नारायण बस्ने ३९ वर्षीय भगवान बस्नेत, कालिञ्चोक गाउँपालिका९४ घर भई महाबौद्ध बस्ने २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका९२ घर भई हाल काठमाडौँको मूल पानी बस्ने २७ वर्षीय मनोज खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका९९ घर भई हाल ठमेल बस्ने २७ वर्षीय गोपी श्रेष्ठ छन् ।
प्रहरीका अनुसार सुरुमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएको छ । त्यसैले उनीहरूलाई नक्कली मदिरा उत्पादन, ओसारपसार, भण्डारण तथा बिक्री वितरण गरेको अभियोगमा पक्राउ गरिएको एसपी मैनालीले बताए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद रक्सीहरू विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्स बार लगायतमा पठाइने गरिएको खुलेको छ । थप अनुसन्धान जारी छ ।