बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बिर्तामोडमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका- ४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा- ५ घर भई हाल बिर्तामोड- ३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् । प्रहरीका अनुसार बिर्तामोड- ४ स्थित पुरानो बिजुली अफिस छेउ स्थित भित्री सडक खण्डमा बिर्ता बजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक उमेशलाई ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम फेला परेकोले सोधपुछ गर्दा प्रतीक्षा समेत संलग्न रहेको भनी खुलाएकोले निजको कोठाबाट समेत प्रतिबन्धित ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम गरी जम्मा ९ ग्राम २०० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । यता दुवै जनालाई अटो सहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।